उज्यालो नेपाल पार्टीको घोषणापत्र : प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने (पूर्णपाठ)
उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्रमा प्रतिनिधिसभा सदस्य सङ्ख्या २७५ बाट घटाएर २०१ बनाउने उल्लेख छ । राज्यलाई हुने आर्थिक भार कम हुने गरी प्रतिनिधिसभा सदस्य सङ्ख्या घटाउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष घिसिङले बताउनुभयो ।
त्यसैगरी प्रदेश सभाको सदस्य सङ्ख्या पनि ५५० बाट घटाएर ३३० कायम राख्ने भनिएको छ । प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने, सङ्घीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढीमा ७ सदस्यीय हुने पनि घोषणापत्रमा समावेश छ । राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था पनि आफूहरूले प्रतिबद्धता पत्रमा समावेश गरेको अध्यक्ष घिसिङले बताउनुभयो ।
घोषणापत्रमा अर्थतन्त्रको सुदृढीकरण र रोजगारीको अवसर सिर्जना गर्नका लागि स्वदेशी पूँजी परिचालनमा जोड दिने नीति अवलम्बन गर्ने उज्यालो नेपाल पार्टीको प्रतिबद्धता छ । पार्टीले आउँदो ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ ।
सन् २०३० सम्म कुल गार्हस्थ उत्पादन (जीडीपी) ७० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको पार्टीले जलविद्युत्, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटीलाई प्राथमिकता क्षेत्र घोषणा गरेको छ ।
